Saturday, July 1, 2017

कर्जा नोक्सानी वापत कायम गर्नु पर्ने व्यवस्था

कर्जा वर्गीकरण न्युनतम कर्जा नोक्सानी व्यवस्था 

(क) असल                                                    १ प्रतिशत

(ख) सुक्ष्म निगरानी (Watch List)                   ५ प्रतिशत

(ग) कमसल                                                 २५ प्रतिशत

(घ) शंकास्पद                                              ५० प्रतिशत

(ङ) खराव                                                   १०० प्रतिशत


**पुनरसंरचना वा पुनरतालिकीकरण गर्ने समयमा असल वर्गमा वर्गीकरण भैरहेका कर्जाहरुलाई पुनरसंरचना वा पुनरतालिकीकरण गर्दा न्युनतम साँढे बाह्र (१२.५) प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । कमसल, शंकास्पद तथा खराव वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनरसंरचना वा पुनरतालिकीकरण गर्दा पुर्ववत कायम गरिएको कर्जा नोक्सानी व्यवस्थामा लगातार दुईवर्षसम्म नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन ।
  • किस्तावन्दी वा सम मासिक किस्ता मा प्रदान गरिएका कर्जाहरुको हकमा कर्जाको साँवा तथा ब्याज नियमित रहेको अवस्थामा देहायको त्यस्तो कर्जाको लागि पुनरसंरचना वा पुनरतालिकीकरण सरह थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछैन । 
  (अ) कर्जाको किस्ता अग्रिम भुक्तानी भएको कारणले किस्तावन्दीको रकम एवम् किस्ता संख्या कम भएमा ।
     (आ) परिवर्तनशील ब्याजदर भएका कर्जाको ब्याजदर परिवर्तन भएको कारणबाट कर्जाको समयावधि तथा किस्ता रकम परिवर्तन भएमा । यस प्रसँगमा ब्याजदर बढेर कर्जाको समयावधि तथा किस्ता संख्या थपिन गएमा कर्जा स्वीकृत गर्ने समयमा निर्धारण गरिएका किस्ता रकम घटाउन पाइने छैन । त्यस्तै, ब्याजदर कम भई कर्जाको समयावधि तथा किस्ता संख्या घट्न गएमा पनि कर्जा स्वीकृत गर्ने बेलामा निर्धारित किस्ता रकम घटाउन पाइने छैन । 

    **पुनरसंरचना वा पुनरतालिकीकरण गरिएका कर्जाको साँवा किस्ता तथा ब्याजको भुक्तानी लगातार दुई वर्षसम्म नियमित भएको अवस्थामा त्यस्ता कर्जाहरुलाई असल कर्जामा परिणत गर्न सकिने छ ।
      **बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएका परियोजनाहरुको ब्याजमा वृद्धि, अन्य लागतमा वृद्धि वा उत्पादन क्षमतामा वृद्धि भई शुरुमा तोकिएको कर्जा भुक्तान गर्ने अवधि (Repayment Schedule)मा कर्जा चुक्ता गर्न सक्ने स्थिति नरहेका ऋणीहरुमध्ये राष्ट्रिय प्राथमिकतामा रहेका हाईड्रोपावर, केवलकार, सिमेन्ट वा अन्य पूर्वाधार निर्माण सम्बन्धी परियोजनाहरुलाई देहायका शर्तहरु पुरा गरी पुनरतालिकीकरण/पुनरसंरचना गरेको अवस्थामा १ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । यसरी पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरुलाई असल कर्जाको रुपमा वर्गीकरण गर्न सकिने छ । 

              (अ) परियोजना निष्क्रिय नभई सञ्चालन मै रहेको वा सञ्चालन शुरु हुने क्रममा रहेको हुनुपर्ने, र 
             (आ) शुरुमा कर्जा प्रवाह गर्दा निर्धारण गरिएको ग्रेस (Moratorium) अवधि भन्दा पछिको अवधिमा पाकेको                ब्याज पुँजीकृत गरी आम्दानी बाध्न नपाइने ।
        **बैंक तथा वित्तीय संस्थाहरुले कुखुरापालन व्यवसायका लागि प्रवाह गरेको कर्जा बर्डफ्लु रोगका कारण साविकको भुक्तानी तालिका वा शर्त बमोजिम चुक्ता गर्न नसक्ने भई कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु परेमा एक पटकलाई ऋणीको ऋण तिर्ने लिखित योजना, धितो सुरक्षणको पर्याप्तता र भविष्यमा ऋण तिर्न सक्ने क्षमताका आधारमा पुनसंरचना वा पुनरतालिकीकरण गरेको अवस्थामा १ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सक्ने गरी पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिने छ । यसरी पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरुलाई असल कर्जाको रुपमा वर्गीकरण गर्न सकिने छ । 

        **सेयरको धितोमा प्रदान गरेको कर्जाहरुलाई पुनरसंरचना वा पुनरतालिकीकरण गर्न पाइने छैन ।

        • इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा निक्षेप तथा कर्जा सुरक्षण निगमबाट सुरक्षण गराएको वा बीमा गराएको अवस्थामा त्यस्तो सुरक्षण गरेको कर्जाको लागि गर्नु पर्र्ने कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) मा ७५ प्रतिशत छुट दिई बाँकी २५ प्रतिशत मात्र व्यवस्था गरे पुग्ने छ । 
        • बैंक तथा वित्तीय संस्थाहरुले शुरु सेयर निष्काशन (IPO) हुँदाको अवस्थामा सेयर खरिदका लागि बुझाइने आवेदनको अर्धकट्टीको सुरक्षणमा यस निर्देशनको बुँदा नं. १५ (सार्वजनिक सेयर निष्काशनमा लगानी गर्नका लागि कर्जा प्रदान गर्ने सम्बन्धमा) मा भएको व्यवस्था विपरित कुनै किसिमको कर्जा प्रवाह गर्न पाइने छैन । त्यस्तो कर्जा प्रवाह गरेको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ
        • व्यक्तिगत/संस्थागत जमानीमा कर्जा प्रदान गर्दा ऋणीको व्यक्तिगत जमानी रकम बराबरको अन्य कसैको दावी नलाग्ने सम्पत्तिको बिवरण अनिवार्य रुपमा लिनु पर्नेछ । व्यक्तिगत/संस्थागत जमानीमा मात्रै प्रवाहित कर्जालाई पनि उपरोक्तानुसार वर्गीकरण गरी असल, कमसल र शंकास्पद कर्जामा पर्ने भए सो वर्गमा तोकिएको प्रतिशतको अतिरिक्त बीस प्रतिशत थप गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । अन्य चल, अचल सम्पत्तिको सुरक्षणले नखाम्ने भई थप सुरक्षण वापत व्यक्तिगत/संस्थागत जमानत समेत लिई कर्जा प्रवाह गरेको अवस्थामा सुरक्षणले नखामेको कर्जामा समेत अतिरिक्त बीस प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । तर, व्यक्तिगत/संस्थागत जमानीमा प्रवाह भएका देहायका कर्जाहरुमा थप कर्जा नोक्सानी व्यवस्था कायम गर्न अनिवार्य हुने छैनः  
                      (क) क्रेडिट कार्ड कर्जा । 

                      (ख) देहायका शर्तहरुको पालना हुने गरी प्रवाह भएको रु १५ लाखसम्मको व्यक्तिगत कर्जा । 
                             (अ) इजाजतपत्र प्राप्त संस्थाको कर्जा नीतिमा यस किसिमका कर्जा प्रवाह, अनुगमन तथा असुली सम्बन्धमा स्पष्ट उल्लेख गरेको हुनुपर्ने ।
                         (आ) यस किसिमका कर्जा प्रवाहका लागि इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिबाट छुट्टै प्रोडक्ट पेपर स्वीकृत गराई लागु गरेको हुनु पर्ने र कर्जा प्रवाह गर्दा प्रोडक्ट पेपर पूर्ण पालना गरेको हुनुपर्ने । 
                             (इ) ऋणीको आम्दानीको स्रोतले कर्जा भुक्तानी गर्न सक्ने स्पष्ट आधार हुनुपर्ने । त्यस्तो आम्दानीको स्रोत ऋणीको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट यकीन गरेको हुनुपर्ने । साथै, ऋणीले अनिवार्यरुपमा स्थायी लेखा नम्बर (Pan) लिएको हुनुपर्ने । 
                         (ई) सम मासिक किस्ता (EMI) मा कर्जा भुक्तानी हुने गरी भुक्तानी तालिका तय हुनुपर्ने र यस्तो कर्जाको अधिकतम समयावधि ५ वर्ष सम्म मात्र हुने । 
                       (उ) यस्तो कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा बढी प्रवाह गर्न नपाईने । 
                 (ग) खण्ड (क) र (ख) बमोजिमका कर्जाहरु नब्बे दिन भन्दा बढी अवधिले भाका नाघेमा खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने । 
                 
        • इजाजतपत्रप्राप्त संस्थाले देहायको अवस्थामा बाहेक तेस्रो पक्षको धितोमा मात्रै प्रवाहित कर्जालाई यस निर्देशन बमोजिम वर्गीकरण गरी असल, कमसल र शंकास्पद कर्जामा पर्ने भए सो वर्गमा तोकिएको प्रतिशतको अतिरिक्त बीस प्रतिशत थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । ऋणीको अन्यसम्पत्तिको सुरक्षणले नखाम्ने भई थप सुरक्षण वापत तेस्रो पक्षको धितो समेत लिई कर्जा प्रवाह गरेको अवस्थामा समेत माथि उल्लेख भए बमोजिम कर्जाको लागि थप व्यवस्था गर्नु पर्नेछ । यस्ता कर्जाहरुको वर्गीकरण विवरण छुट्टै तयार गर्नु पर्नेछ । 
        (अ) ऋणी व्यक्ति भएमा निजको एकाघर परिवारका सदस्यको नाममा भएको धितो । 
        (आ) ऋणी फर्म भएमा सो फर्मको प्रोप्राइटर, साझेदार वा निजको एकाघर परिवारका सदस्यको नाममा भएको धितो । 
        (इ) ऋणी कम्पनी भएमा सो कम्पनीका संस्थापक, सञ्चालक वा निजको एकाघर परिवारका सदस्यको नाममा भएको धितो । तर यस अघि (परिपत्र जारी मिति २०६९।३।२९) प्रवाहित कर्जाको हकमा २०७१ असार मसान्तसम्म वा आवधिक कर्जाको हकमा अन्तिम किस्ता भुक्तानी अवधिसम्म यस्तो थप कर्जा नोक्सानी व्यवस्था गर्न वाध्य हुने छैन । 
        • बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत जमानीमा प्रवाह भइरहेको शिक्षा कर्जा तथा लघु वित्तीय संस्था एवम् सहकारी संस्थाहरुलाई विपन्न वर्ग कर्जा अन्तर्गत लगानी गरेको कर्जामा माथि तोकिएको कर्जा नोक्सानी व्यवस्थामा अतिरिक्त वीस प्रतिशत थप कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछैन ।
        • इजाजतपत्रप्राप्त संस्थाले चाहेमा माथिल्लो वर्गको कर्जा सापटहरुलाई तल्लो वर्गमा वर्गीकरण गर्न कुनै बन्देज लगाइएको छैन । उदाहरणका लागि कमसल कर्जालाई शंकास्पद वा खराब कर्जामा र शंकास्पदलाई खराव कर्जामा वर्गीकरण गर्न पाइने छ । 
        • इजाजतपत्रप्राप्त संस्थाले आफ्नो कर्जाको स्थिति हेरी यस निर्देशनमा तोकिएको न्युनतम कर्जा नोक्सानी व्यवस्थाको अतिरिक्त थप कर्जा नोक्सानी व्यवस्था कायम गर्न चाहेमा त्यसरी थप कर्जा नोक्सानी गरिएका कर्जा खाताहरु स्पष्ट खुलाउनु पर्नेछ ।
        •  कर्जा/सापट भन्नाले बिल्स खरिद तथा डिस्काउण्ट समेतलाई सम्झनु पर्नेछ ।
        टिप्पणीः सक्रिय कर्जाको लागि गरिएको कर्जा नोक्सानी व्यवस्थालाई “सामान्य कर्जा नोक्सानी व्यवस्था (General Loan Loss provision) र निष्क्रिय कर्जाको लागि गरिएको कर्जा नोक्सानी व्यवस्थालाई “विशेष कर्जा नोक्सानी व्यवस्था (Specific Loan Loss Provision)को रुपमा लिइने छ ।

        No comments:

        Post a Comment