चालुपुँजी प्रकृतिका कर्जा सम्बन्धी व्यवस्था
(१) यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, र “ख” वर्गका संस्थाले प्रवाह गर्ने चालु पुँजी प्रकृतिका कर्जा (ओभरड्राफ्ट कर्जा, चालु पूँजी कर्जा, क्यास क्रेडीट कर्जा, डिमाण्ड लोन, ट्रष्ट रिसिप्ट कर्जा, अल्पकालीन कर्जा आदि र “क” वर्गका संस्थाको हकमा हाइपोथिकेसन कर्जा समेत) उपयोग गर्ने ग्राहकहरुबाट हुने बहुबैंकिङ्ग (Multiple Banking) कारोवारलाई व्यवस्थित गर्न देहायको व्यवस्था जारी गरिएको छ:
- (क) इजाजतपत्रप्राप्त संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्नुपुर्व ग्राहकबाट अनिवार्य रुपले कर्जा कारोबार सम्बन्धी स्वघोषणा लिई उक्त स्वघोषणा अनुसारको विवरण र कर्जा सुचना केन्द्र लिमिटेडबाट प्राप्त विवरण भिडाई ग्राहकले लिएको कर्जा यकिन गर्नुपर्नेछ ।
- (ख) इजाजतपत्रप्राप्त संस्थाले रु.१ करोड वा सो भन्दा बढी रकमको चालु पुँजी प्रकृतिका कर्जा प्रवाह तथा नवीकरण गर्दा देहाय बमोजिमका शर्त तथा बन्देजको अधिनमा रही गर्नु पर्नेछ । (अ) ग्राहकले एक भन्दा बढि इजाजतपत्रप्राप्त संस्थाबाट चालु पुँजी प्रकृतिका कर्जा उपयोग गर्ने/गरेको देखिएमा त्यस किसिमका कर्जा प्रवाह/नवीकरण गर्नुअघि उक्त ग्राहकलाई कर्जा प्रवाह गर्ने संस्थाहरु बीच एक आपसमा पारीपासु सम्झौता गर्नुपर्नेछ । त्यस्तो सम्झौतामा सम्बन्धित संस्थाले प्रवाह गर्ने कर्जा रकमको अंश, धितोको विवरण तथा ग्राहकले प्रदान गर्ने धितोमा सम्बन्धित संस्थाको स्वामित्वको अंश समेत खुलाउनु पर्नेछ । कथंकदाचित कर्जा असुली नभएमा अपनाइने कर्जा असुली, धितो लिलामी तथा विवाद समाधान सम्बन्धी व्यवस्था समेत उक्त सम्झौतामा उल्लेख गर्नु पर्नेछ । (आ) सम्बन्धित संस्थाले ग्राहकलाई प्रवाह गर्ने कर्जाको अंश निर्धारण गर्दा Stock तथा Receivable लाई आधार मानी प्रचलित कानुन तथा आफ्नो कर्जा नीतिमा रहेको प्रावधान बमोजिम कर्जा सीमा कायम गर्न सक्नेछन । (इ) इजाजतपत्रप्राप्त संस्थाले यस किसिमको बहुबैंकिङ्ग कारोबार गरी कर्जा उपभोग गर्ने ग्राहकहरुको विवरण ने.रा.बैंक निर्देशन फा.नं. २.५ बमोजिमको ढाँचामा बैंक सुपरिवेक्षण विभागमा त्रैमासिक रुपमा पेश गर्नु पर्नेछ ।
- (ग) इजाजतपत्रप्राप्त संस्थाले रु.१ करोड भन्दा कम रकमको चालु पुँजी प्रकृतिका कर्जा प्रवाह/नवीकरण गर्नु अघि समेत अन्य इजाजतपत्रप्राप्त संस्थाबाट त्यस्तो कर्जा लिए नलिएको यकिन गरी त्यस्तो कर्जा लिएको अवस्थामा कर्जा दिने अन्य इजाजतपत्रप्राप्त संस्थाबाट अनिवार्य रुपले No Objection Letter लिएर मात्र कर्जा प्रवाह÷नवीकरण गर्नुपर्नेछ ।
(२) बैंक तथा वित्तीय संस्थाले चालु पुँजी प्रकृतिका कर्जा प्रदान गरेको अवस्थामा सम्बन्धित ग्राहकबाट आफ्नो Stock तथा Receivable को विवरण कम्तीमा प्रत्येक तीन/तीन महिनामा प्राप्त गर्नु पर्नेछ । सो विवरण प्राप्त भए पछि इजाजतपत्रप्राप्त संस्थाले ग्राहकको Stock तथा Receivable को निरीक्षण गरी Stock तथा Ageing सहितको Receivables निरीक्षण प्रतिवेदन तयार गर्नुपर्नेछ र सो प्रतिवेदन बहुबैंकिङ्गको हकमा पारीपासुमा समावेश इजाजतपत्रप्राप्त संस्थाहरु बीच आपसमा आदान प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ । Stock तथा Receivable निरीक्षण गर्दा कुल कर्जा सीमाको लागि आवश्यक पर्ने Stock तथा Receivables को मुल्य कम हुन गएमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो ग्राहकको कर्जा सीमा पुनरावलोकन गरी नयाँ कर्जा सीमा कायम गर्नु पर्नेछ । प्रवाह भैसकेको रकम बढि देखिएमा सीमाभित्र ल्याउनु पर्नेछ । साथै Stock को धितोमा कर्जा प्रवाह गर्ने भएमा ऋण पुर्ण रुपमा सुरक्षित हुने गरी धितोमा रहेको सम्पत्तिको बीमा अनिवार्य रुपले गराउनु पर्नेछ ।
(३) इजाजतपत्रप्राप्त संस्थाले ग्राहकको कर्जा सीमा निर्धारण गर्दा गत वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, कम्तीमा आगामी ३ वर्षसम्मको अनुमानित वित्तीय विवरण, ग्राहकले पेश गरेको व्यावसायिक योजना आदिको आधारमा आवश्यक चालु पुँजी कर्जाको सीमा निर्धारण गर्नु पर्नेछ । तर पछिल्लो आ.व. को लेखापरीक्षण सम्पन्न हुन बाँकी भएको स्पष्ट कारण सहित ग्राहकले त्यस्तो वित्तीय विवरण पेश हुन नसक्ने निवेदन दिएमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो वित्तीय विवरण पेश गर्न मनासिव माफिकको समय दिन सक्नेछ ।
(४) “ग” बर्गका वित्तीय संस्थाहरुले हाइपोथिकेशन तथा अधिविकर्ष कर्जा प्रवाह गर्ने पाउने छैनन् ।
No comments:
Post a Comment